(Monday, 15 October, 2018)
 | News

मुख्यमन्त्री भर्ना अभियानमा सहभागी 

बुटवल बैशाख ४ । मुख्यमन्त्री शंकर  पोखरेल घोराही उपमहानगरपालिका—१७ स्थित गोरक्षरत्ननाथ माविमा विपन्न र  अभिभावकविहिन बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना अभियानमा सहभागी हुनु भएको छ ।

मुख्यमन्त्री पोखरेलको सचिवालय र परिवारले शिबु चौधरी सहित पाँच बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना अभियानमा सहभागी भएको हो ।

घोराही—४ गोग्लीका शिबु चौधरीलाई कक्षा १, घोराही—१७ चौघेराका  राजन शर्मालाई कक्षा ४ चौघेराकै कल्पना योगीलाई कक्षा ४, आशिका चौधरीलाई कक्षा १ र कमल बुढालाई कक्षा ४ मा भर्ना गराउँदै मुख्यमन्त्रीको सचिवालय र परिवारले अभिभावकत्व ग्रहण गरेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मिहिनेत गर्नुपर्ने बताउँदै गुणस्तर सुधार गर्न सके भर्ना अभियान अझै प्रभावकारी हुने बताउनु भयो । उहाँले विद्यालय जानबाट बञ्चित बालबालिकाको अभिभावक बन्न पाउँदा  खुशी  लागेको बताउँदै यो अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।  

प्रतिनिधिसभा सदस्य एंव मुख्यमन्त्री पत्नी सुजिता शाक्यले  निक्षरमुक्त र चेतनशिल समाज निर्माणका लागि सधैं लागिरहेको र अहिले भर्ना अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनु भयो । पाँच बालबालिकाको एक एक जनाको दरले मुख्यमन्त्री, आफूँ, दुई छोरी, अंकिता, आकृति र मुख्यमन्त्रीका स्वकिय सचिव सरोज रेग्मीले अभिभावकत्व ग्रहण गर्ने उहाँले जानकारी  गराउनुभयो ।

विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले मुख्यमन्त्री विपन्न र अभिभावकविहिन बालबालिकाको अभिभावक बनेर भर्ना अभियानमा सहभागी हुनु भएकोमा खुशी लागेको बताए । मुख्यमन्त्री अभिभावक बनेर साथ दिएकोमा आफूँलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न हौसला मिलेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री  केपी ओलीले केही दिन अघि मुगुको कर्मारोङ गाउँपालिकाका बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना अभियान शुरुवात गर्नु भएको हो । प्रधानमन्त्रीले सबैलाई विद्यार्थी भर्ना अभियानमा सहभागी हुन आह्वान गर्नु भएको छ ।