(Saturday, 15 December, 2018)
 | News


मुख्यमन्त्रीद्वारा झुम्सा–चरंगे वैकल्पिक मार्गको निरीक्षण
बुटवल असार ८ । सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा खण्डको विकल्पका रूपमा अघि सारिएको झुम्सा–चरंगे सडकको शुक्रवार मुख्यमन्त्री शंकर पोखरेलले निरीक्षण गर्नु भएको छ ।

सिद्धबाबा खण्डमा पहिरोेले जोखिम बढेपछि झुम्सा–चौकीभञ्ज्याङ–चरंगे–धागो कारखाना खण्डलाई प्रदेश सरकारले प्राथमिकता दिइ अघि बढाएको हो । यो वैकल्पिक मार्गको ट्रयाक स्थानीय तह र उपभोक्ता समितिको पहलमा केही दिन अघि खुलेको हो ।

ट्रयाक खुलेसँगै सिद्धार्थ राजमार्गको झुम्साबाट २० किमि बुटवल नजिकैको धागो कारखानासम्म पुग्न सकिन्छ ।  झुम्सा–बुटवल सडक खण्ड ९ किलोमिटर मात्र भए पनि सिद्धबाबाको जोखिम न्यूनीकरणका लागि नयाँ ट्रयाकको विकल्प अघि सारिएको हो । चरंगे–झुम्सा सडकको निरीक्षणपछि मुख्यमन्त्री पोखरेलले सिद्धबाबाको जोखिम न्युनिकरणका लागि वैकल्पिक मार्गलाई प्राथमिकता दिएको  र यो मार्ग निर्माण गर्न सहज देखिएको बताउनुभयो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चरंगे–झुम्सा सडकका लागि १० करोड बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले चरंगे–झुम्सा वैकल्पिक मार्ग बनेपछि पाल्पाको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिको नेतृत्वमा तानसेन नगरपालिका, तिनाउ, बगनासकाली, रिब्दीकोट गाउँपालिकाका साथै देवदह नगरपालिका रूपन्देहीको सहयोगमा ट्रयाक खुलेको हो ।

स्थानीय सरकारले आफ््नै लगानीमा वैकल्पिक मार्गको नयाँ ट्रयाक खोल्ने काम पूरा गरेको जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्यालले बताउनु भयो  । निरीक्षणमा मुख्यमन्त्री शंकर पोखरेल,भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रदेशसभा सदस्य दधिराम न्यौपाने, भुमिश्वर ढकाल, नारायण आचार्य, पुरन बज्राचार्य, बसन्त घर्ती, पाल्पाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बश्याल, विष्णुप्रसाद ढकाल लगायतको टोली सिद्धार्थ राजमार्गको झुम्साबाट चौकीभञ्ज्याङ हुँदै धागो कारखाना पुगेको थियो ।

झुम्सादेखि चौकी भञ्ज्याङसम्को सात किमी र रूपन्देहीको धागो कारखानाबाट चरंगे मुढावास साढे सात किलोमिटरमा यसअघि नै ट्रयाक खोलिएको थियो । चौकीभञ्ज्याङबाट मुढावाससम्मको करिब साढे ५ किलोमिटरमा नयाँ ट्रयाक खुलेको हो । रूपन्देही र पाल्पा जोड्ने सडक भएकाले यसमा दुवै जिल्लाका उपभोक्ताले संयुक्त समिति बनाएर काम गरिरहेका थिए । यो साढे ५ किमिमा ट्रयाक एकमहिनामा खुलेको हो ।

 आगामी आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको बजेटले सडक फराकिलो बनाउने र ग्राभेलसम्मको काम सक्ने योजना बनाइएको छ ।