(Monday, 15 October, 2018)
 | News


मन्त्रिपरिषदले गरयो विभिन्न निर्णय
बुटवल साउन २३ । मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन कार्यविधि २०७४ को पहिलो संशोधन गर्दै एक महिला सहित चार सदस्य रहने व्यवस्था स्विकृत गरेको छ । यस अघिको कार्यविधिमा एक महिलासहित दुई सदस्य रहने व्यवस्था थियो ।
प्रादेशिक योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त भइसक्नु भएको छ ।

त्यसैगरी, प्रदेश योजना आयोगको सदस्यमा यस अघि ४० वर्ष पुगेको हुनुपर्नेमा संशोधन गर्दै ३५ वर्ष उमेर कायम गरिएको छ ।
बैठकले प्रदेश मन्त्रिपरिषदमा विभिन्न समितिहरु गठन गरेको छ । राजनैतिक समितिमा मुख्यमन्त्री संयोजक र मन्त्रीहरु सदस्य रहने व्यवस्था गरिएको छ । प्रशासन तथा विधेयक समितिमा संयोजक आन्तरिक मामिला मन्त्री र सदस्यहरुमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, भौतिक पूर्वाधार विकास, सामाजिक विकास मन्त्री र भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री रहनु भएको छ । त्यसैगरी आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा भौतिक पूर्वाधार मन्त्री संयोजक र सदस्यहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, सामाजिक विकास मन्त्री र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहनु भएको छ ।


त्यसैगरी भौतिक पूर्वाधार व्यवस्थापन अन्तर्गत यहाका चार संघसंस्थालाई रकम दिने बैठकले निर्णय गरेको छ । पूर्वाधार अभावले प्रदेश सरकार विभिन्न संघसंस्थाका भवन प्रयोग गर्न बाध्य छ । उद्योग वाणिज्य संघ र महिला जेसिज भवन प्रदेशसभाले प्रयोग गरिरहेको छ । उद्योग वाणिज्य संघ अहिले बालमन्दिर रहेको ठाउमा जादैछ । महिला जेसिजले मगर महिला संघमा कार्यालय व्यवस्थापन गर्दैछ । बालमन्दिरका लागि अन्यत्र व्यवस्थापन हुदैछ । विटिआईको आवास क्षेत्रमा प्रदेश सरकारका कर्मचारीको आवास व्यवस्थापन गर्ने तयारी छ । प्रदेश सरकार र सभाका लागि भौतिक पूर्वाधार व्यवस्थापन अन्तर्गत उद्योग वाणिज्य संघलाई ४० लाख,विटिआईलाई १० लाख,बालमन्दिरलाई २ लाख,महिला जेसिज र मगर महिला संघलाई १।१ लाख रुपैंया प्रदान गर्ने निर्णय बैठकले गरेको हो ।

बैठकले प्रदेशसभा बैठक साउन २४ गते अन्त्य गर्ने निर्णय गरेको छ ।
त्यसैगरी दाड.को शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गाउँपालिकाले गरेको र सिफारिशका लागि अनुरोध भइ आएकोले संघीय सरकारलाई केन्द्र परिवर्तनको लागि सिफारिश गर्ने गरेको छ । शान्तिनगरको केन्द्र चिराघाटबाट जुम्लेकुलामा सार्ने निर्णय भएको छ ।