(Friday, 23 August, 2019)
 | News



पाल्पा,पुष २८ । मुख्यमन्त्री शंकर पोखरेलले मुलुक तीब्र आर्थिक विकासको गतिमा अघि बढेको बताउनुभएको छ ।
बेलडाँडा—ढुंगानाबेंसी—मित्याल—अरुणखोला मोटरबाटोको आज उद्घाटन गर्दै उहाँले यो वर्ष मुलुकले ८ प्रतिशतको आर्थिकवृद्धि हासिल गर्ने बताउनुभयो । संविधान घोषणा अघि ३ प्रतिशतको आर्थिक वृद्धि रहेकोमा संविधान घोषणापछि ६ प्रतिशत हुँदै यो वर्ष ८ प्रतिशतको वृद्धि हासिल हुन लागेको हाम्रालागि सुखद रहेको बताउनुभयो ।  चालु आर्थिक वर्षमा राजस्वमा ३२ प्रतिशतले वृद्धि हुदाँ गरेर मुलुकको अर्थतन्त्र बढेको उहाँको भनाई छ ।
सरकार योजनाबद्ध र तीब्र आर्थिक विकास हासिल गर्ने प्रयासमा लाग्दा आलोचना हुनु अस्वाभाविक भएको उहाँको भनाई छ । ‘सरकारले काम गर्न खोज्दा आलोचना र निराशाको स्वर बढेको छ,मुलुकमा अराजकता र बेथिति रोकेर पद्दती बसाल्न खोज्दा विरोधको स्वर सुनिएकोछ—उहाँले भन्नुभयो —सरकार ठीक ठाउँमा छ, जनभावना अनुसार काम गर्दै जान्छ ।
राजैतिक स्थिरताले लगानीको वातावरण बनेकोले लगानी बढेको र वैदेशिक रोजगारको क्षेत्रमा बेथिति हटेर सुधार भएकाले विदेश जानेको संख्या घटेपनि रेमिट्यान्स बढेको उहाँको भनाई छ । पूर्वाधार विकासमा लगानी बढ्दा निर्माण सामग्रीको आयात बढेकोले बढ्दो आयातबाट अर्थतन्त्रमा नकारात्मक असर नपर्ने उहाँले बताउनुभयो ।
उहाँले दुई छिमेकीबीच सन्तुलित सम्बन्धको शुरुवात भएको बताउनुभयो । ‘अव भारतले कहिल्यै नाकाबन्दी नलगाउने वातावरण बनेको छ,चीनसंगको व्यापार तथा पारवहन सम्झौताले भारततर्फको मात्रै निर्भरता हटेको छ—उहाँले भन्नुभयो । चीनले रेल ल्याउने तयारी गर्दा भारतले पनि काठमाडौंसम्म रेल बनाउने तयारी गरेको र डिपिआर बन्न लागेको उहाँको भनाई छ ।
उहाँले नयाँ संविधान अन्तर्गतको नयाँ शासन व्यवस्था स्थापित गर्ने वर्षको रुपमा यो वर्षलाई सरकारले लिएकाले अहिले काम नभएजस्तो देखिएको र विरोधीलाई कुरा काट्ने मौका मिलेको बताउनुभयो । ‘भ्रमको खेती गर्नेका लागि ६ महिनाको मौका छ, त्यसपछि भ्रमको खेती बन्द हुन्छ ।’
उहाँले प्रदेश सरकार योजनाबद्ध विकासमा लागेको र त्यसका लागि आवधिक योजना बनाउने काम भइरहेको बताउनुभयो ।‘बैशाखसम्म योजना बनाउने काम सकिन्छ, आगामी बर्षको बजेट योजनामा आधारित आउँछ ।’
उहाँले बेलडाँडा—ढुंगानाबेंसी—मित्याल—अरुणखोला सडकलाई स्तरोन्नती गरी गरी सवारीसाधन सहज ढंगले चल्ने बनाउने काम प्रदेश सरकारले जिम्मा लिने बताउनुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यो सडक दुई वटा प्रदेशको रणनीतिक सडक भएको बताउनुभयो । उहाँले पाँच वर्षभित्र २६ हजार किमि सडक स्तरोन्नती गर्ने, प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो । रामपुरदेखि रुकुमकोटसम्म प्रादेशिक रणनीतिक मार्ग बनाउन लागेको उहाँको भनाई छ ।
प्रतिनिधिसभा सदस्य दलबहादुर राना र तिलक महतले पाल्पा र नवलपुरलाई जोड्ने यो सडकले यस क्षेत्रको विकासमा ठूलो टेवा पु¥याउने बताउनुभयो ।
प्रदेश ५ प्रदेशसभा सदस्य युवराज खनाल, गण्डकी प्रदेश सदस्य जनकलाल श्रेष्ठ, मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर थापाले पनि सडकले विकासको ढोका खोलेको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य दलबहादुर रानाको पूर्वाधार विकास कोषको ५० लाख, तिलक महतको ५० लाख र निस्ति गाउँपालिकाको ४० लाख रुपैंयाबाट सडकको ट्रयाक खुलेको हो ।  यो सडक २०३२ सालदेखि बनाउन थालिएको हो । यो सडक ४० किमि छ ।