(Friday, 23 August, 2019)


इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (इद) पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल  सांस्कृतिक विविधता भएको मुलुक हो ।  विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुक सांस्कृतिक रुपमा रंगिन बनेको छ  । विविधतायुक्त समाजमा मनाइने  सांस्कृतिक उत्सव र पर्व कुनै जाति र समुदाय विशेषका नभएर सबैका साझा भएका छन् । समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण तयार गर्न यी पर्वले सघाउ पु¥याउदै आएका छन् । इद पर्वले पनि सद्भाव, भाइचारा र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको छ । संवैधानिक व्यवस्था अनुसार मुस्लिम आयोग गठन भइ कार्यारम्भ भएको छ ।  संविधान कार्यान्वयन गर्दै   संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दिशामा मुलुक अघि बढिरहेको छ । संविधान कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जानेछन् ।

अहिले मुलुक समृद्धिको यात्रामा अघि बढेको छ । विकास र समृद्धिको बाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष हो  । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौ । यो लक्ष्यमा पुग्नका लागि आवधिक योजना बनाएर  आगामी मार्गचित्र प्रष्ट पारेका छौं । आवधिक योजनाले तयार गरेको मार्गचित्र अनुसार आगामी बर्षको बजेट आउने छ । जसले समृद्धिको यात्रालाई अझ फराकिलो बनाउने छ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।
अन्त्यमा, इद पर्वको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७६ जेठ २२