(Monday, 15 October, 2018)

 



१८ बैशाख, २०७५ 

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदीबहिनीलाई म हार्दिक शुमकामना व्यक्त गर्दछु ।

२१ औ शताव्दी श्रम र श्रमिकको शताब्दी हो । श्रम शक्तिको विकासवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव हुन्छ । नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयका दृष्टिकोणले हेर्ने सामाजिक मान्यता रह्यो । कतिपय श्रमका क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता समेत देखिदैन । जसवाट वर्षेनी अरवौको पूँजी रमिट्यान्सका रुपमा पलायन भइरहेको छ । हामीले दुई वर्ष अघि जनताको प्रत्यक्ष सहभागितामा ऐतिहासिक संविधानसभावाट जनअधिकारले सम्पन्न संविधान जारी गर्न सफल भएका थियौ । उक्त संविधान अन्तरगत मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको छ । तीनै तहका जननिर्वाचित सरकारहरु गठन भइसकेका छन् । अव विकास र समृद्धि जनताको साझा आकांक्षा वन्न पुगेको छ । उक्त आकांक्षा पुरा गर्नका लागि श्रमशक्तिलाई अर्थतन्त्र र मुलुकको पूर्वाधार विकासमा लगाउनु अनिवार्य छ ।

हामी हाम्रो मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२।०६३ मा भएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलतावाट हासिल गरेका हौ । उक्त आन्दोलनमा नेपाली श्रमिकवर्गको सहभागिता र  बलिदान स्मरणीय छ । उक्त आन्दोलनको उपलव्धिका रुपमा स्थापित ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक  र समाजवादउन्मुख राज्यव्यवस्थाको स्थापना गरेको छ । संविधानले व्यवस्था गरेको समाजवादउन्मुख  राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित छ ।

म अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा श्रमशक्तिको विकासवाट नै समृद्ध नेपालको निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न सम्वद्ध सबै पक्षलाई आह्वान गर्दछु र सम्पूर्ण श्रमजीवी वर्गमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई १)को उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मुख्यमन्त्री

शंकर पोखरेल