(Saturday, 15 December, 2018)

गणतन्त्र दिवसको शुभकामना सन्देश 

आजको दिन जनताको संघर्ष र वलिदानले सार्थकता पाएको दिन । ऐतिहासिक संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र घोषणा भएको दिन । विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन । जनताको वलिदानीपूर्ण संघर्षवाट जन्मिएको ऐतिहासिक संविधानसभाले करतलध्वनीका बीचमा गणतन्त्र घोषणा भएको आज दशवर्ष पूरा भएको छ । म यस अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । 

शहिदको बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको हो । गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतःनागरिकमा स्थापित गरेको छ । गणतन्त्र शासन पद्धती मात्र नभएर नागरिक सम्प्रभुतामा आधारित जीवन पद्धती पनि हो । यसले हाम्रो समाज र राष्ट्रको भाग्य र भविष्य नागरिक मानिहित छ भन्ने मान्यतालाई स्थापित गरेको छ । म नेपाली नागरिकहरु वास्तविक रुपमा सम्प्रभु भएको यस ऐतिहासिक दिनको सुखद अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदानगर्न सकोस् भन्ने कामना गर्दछु ।

नेपालको संविधानले गणतन्त्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाका रुपमा आत्मसात गरेको छ । वास्तवमा संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुन आवश्यकछ । ऐतिहासिक संविधानसभावाट नयाँ संविधानजारी भएपछि  यतिवेला हामी संघिय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छौ । त्यसको व्यवहारिक कार्यान्वयनको शुरुवात तीन तहको चुनाव सम्पन्न भई जनप्रतिनिधिमुलक शासन व्यवस्था शुभारम्भबाट भएको छ । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेपछि नागरिकहरु विकास र  समृद्धिको व्यग्र प्रतीक्षामा छन् । हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश खुसी जनताको लक्ष वोकेर अघि वढ्न लागि रहेका छौ । संवैधानिक प्रवन्ध अन्तरगत संगठनात्मक समायोजन र अधिकारको वाँडफाँडका विषयहरु निरुपण नभएसकेका कारणले प्रदेश सरकार अझै पूर्ण सामथ्र्यका साथ अघि वढ्न सकिरहेको छैन । आगामी आर्थिक वर्षदेखि प्रदेश र स्थानीयतहका सरकारहरु संचालन हुने वलियो आधार तयार हुने कुरामा प्रदेश सरकार विश्वस्त छ । हामी हाम्रा प्रयासहरुलाई त्यस दिशातर्फ अघि वढाउन कृत संकल्पित छौ ।

सामन्ती राजतन्त्रको अन्त्य पछि अव रोग, भोक, अशिक्षा र बेरोजगारी नै हाम्रा दुस्मन हुन् । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने कुरा नै हाम्रो लक्ष हो  । केन्द्रीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष अघि सारेको छ । हामी प्रदेश सरकारका तर्फवाट उक्त लक्ष हासिल गर्ने कुरामा सार्थक योगदानदिन प्रतिवद्ध छौ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष अघि सारेका छौ ।  हामी राष्ट्र निर्माणको महाअभियानमा आफ्ना एजेण्डाका साथ अघि बढ्न लागि रहेका छौ । म गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, संघ संस्था राष्ट्रसेवक कर्मचारीहरु र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।

अन्त्यमा गणतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

शंकर पोखरेल

मुख्यमन्त्री

मिति २०७५ जेठ १५