(Wednesday, 19 September, 2018)


विश्व वातावरण दिवसको शुभकामना सन्देश 

आज जुन ५ विश्व वातावरण दिवस ।  स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गर्नु आजको पुस्ताको कर्तव्य हो । भावी पुस्ताका लागि नभई नहुने हाम्रा अमूल्य जीवजन्तु, स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण र जीवनको पर्याय वनलाई संरक्षण र सम्बद्र्धन गर्न प्रण गर्ने दिनका रुपमा यो दिवसलाई लिनुपर्छ । नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको आज हामी सबैले स्मरण गर्न जरुरी छ ।

अहिले वातावरण प्रदुषणले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । वातावरण प्रदुषणकै कारण अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि देखा परेको वातावरण सम्बन्धी भएका अध्ययन र अनुसन्धानले देखाएका छन् । प्लाष्टिकले गरेको प्रदुषणका बारेमा जागरण ल्याउन यो वर्षको विश्व वातावरण दिवसको नारा प्लाष्टिक प्रदुषण निर्मुल पारौं, सके  पुनः प्रयोग, नसके बहिष्कार गरौं भन्ने रहेको छ । बढ्दो प्रदुषणको  एउटा श्रोत प्लाष्टिक पनि हो । नागरिकको बदलिदो जीवनशैलीका कारण प्लाष्टिक प्रयोग बढ्दो छ । प्लाष्टिकले गरेको प्रदुषणले अहिले असरहरु देखिन थालेका छन् । खेतीयोग्य भूमिमा प्लाष्टिक छ्याप्छयाप्ती भेटिन थालेका छन्, जसले कृषि उत्पादनलाई घटाएको छ । यो मानव जीवनका लागि चिन्ताको विषय हो ।

 हामीले खाने खाना, पिउने पानी र  श्वास फेर्ने हावा प्रदुषणमुक्त भए मात्र स्वच्छ जीवन जिउन सक्छौं । स्वच्छ वातावरणमा नागरिक स्वस्थ रहन सक्छ । स्वस्थ नागरिकले आफू, परिवार र समाजलाई सही दिशामा अघि बढाउन सक्छ । यतिखेर प्रदेश सरकार समृद्ध प्रदेश सुशी जनताको अभियानमा जुटेको छ । यो अभियानलाई सार्थक बनाउन तीव्र आर्थिक विकास जरुरी छ । विकासका लक्ष्य पूरा गर्न श्रोत र साधनको दीगो तथा   सन्तुलित प्रयोग गर्दै विकासका लागि वातावरणमैत्री प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्लाष्टिक प्रदुषण निर्मुल पारौं,सके पुनः  प्रयोग, नसके बहिष्कार गरौं भन्ने यो वर्षको विश्व वातावरण दिवसको नारालाई सार्थक बनाउन सबैले प्लाष्टिक प्रयोग विरुद्ध अभियान अघि बढाऔं । विश्व वातावरण दिवसको अवसमा सबैमा शुभकामना ।


शंकर पोखरेल 

मुख्यमन्त्री 

मिति २०७५ जेठ २२