(Wednesday, 19 September, 2018)


राष्ट्रिय धान दिवस—२०७५ को शुभकामना सन्देश 

मिति २०७५ असार १५ 


राष्ट्रिय धान दिवसको अवसरमा समस्त किसान दाजुभाइ दिदीबहिनीहरुमा  म हार्दिक शुभकामना व्यक्त गर्दछु ।

खाद्यान्न बालीहरुमध्ये धान नेपालको मुख्य एंव आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा महत्वपूर्ण बाली हो । नेपाली समाजका हरेक सामाजिक र सांस्कृतिक कार्यहरुमा धान अनिवार्य  रहेको छ । राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन र रोजगारीको सुनिश्चितताका लागि धान नेपालको प्रमुख बाली हो । कृषिबाट प्राप्त हुने कुल ग्रार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशतत रहेको छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिशत जमिनमा धान खेती हुँदै आएकोमा क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढि रहेको तथ्याङक छ । जसमध्ये हाम्रो प्रदेश धान उत्पादनमा पहिलो स्थानमा छ ।

धानको व्यवसायिकरणको माध्यमबाट रोजगारीको श्रृजना एंव धान चामल निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार  योजनाबद्ध रुपमा अघि बढिरहेको छ । त्यसका लागि खेतीयोग्य भूभागमा सिंचाईको उपलब्धता बढाउँदै जाने, उन्नत जातका बीउबिजन र मलखाद किसानलाई सहज उपलब्ध गराउने एंव यान्त्रिकरणमा जोड दिने नीति प्रदेश सरकारले लिएको  छ । 

केही दशक अघि धान निर्यातको इतिहास बोकेको मुलुकले अहिले चामल आपूर्तिका लागि आयाात  गरिरहेको छ । आयातलाई प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउँदै खेतीयोग्य जमिनको बढ्दो खण्डिकरण तथा घडेरीकरण रोक्न राज्यले भूउपयोग नीति तयार गरी कार्यान्वयन गर्दैछ । धानको उत्पादन वृद्धि गरी राष्ट्रिय समृद्धि हासिल गर्नका लागि सरोकारवालाहरु एकजुट हुन अपील गर्दछु । धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि मूल नाराका साथ मनाउन लागिएकोे धान दिवसलाई भव्य रुपमा मनाऔं । धान दिवस—२०७५ को अवसरमा सबैलाई शुभकामना ।

मुख्यमन्त्री 

शंकर पोखरेल