(Wednesday, 19 September, 2018)

तीज पर्व–२०७५ को शुभकामना सन्देश

हिन्दु नारीहरुको पर्व हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त महिला दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तीज पर्वले सामाजिक र राजनैतिक जागरण ल्याउन ठूलो भूमिका खेल्दै आएको छ । जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था  र शाही शासनको कठीन अवस्थामा नेपाली महिलाहरुले  गरेको संघर्ष यो अवसरमा स्मरण गर्दछु । जनाधिकार कुष्ठित भएको ती कठिन दिनमा महिलाहरुले तीज गीत मार्फत तत्कालीन  राज्यव्यवस्था विरुद्ध जनमत बनाउन महत्वपूर्ण भूमिका खेलेको सबैका सामु छर्लङ्ग छ । विगतमा तीज पर्वमा गीत मार्फत  राजनैतिक जागरण ल्याएर आन्दोलनलाई उत्कर्षमा पु¥याइएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत  गर्न अहिले उत्तिकै ध्यान दिन आवश्यक छ ।
 संविधान जारी भएपछि  चुनावमार्फत राजनैतिक नेतृत्व स्थापित भएको छ । अब  जनचाहना र आकांक्षा अनुसार काम गर्ने वातावरण तयार गर्न तीज पर्वले सार्थक भूमिका खेल्ने अपेक्षा मैले गरेको छु । राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व गरेर नेपालको संविधान विश्वमै नमूना भएको छ । महिला सम्बन्धी विभिन्न हकहरुलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ । विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा  सबै जुट्न अपील गर्दछु ।
हरितालिका (तीज ) पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व पनि हो । पारिवारिक र सामाजिक सामिप्यता बढ्दा मुलुकमा विश्वासको बातावरण बन्छ, जसले राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत गर्छ ।  मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । विकास र समृद्धिको बाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो  । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकारले  समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेको छ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा एकजुट भई अघि बढ्न म हार्दिक अपिल गर्दछु ।
अन्त्यमा, हरितालिका (तीज) पर्वको  अवसरमा सबैमा शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ भदौ २७