(Saturday, 15 December, 2018)



संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
नेपाली जनताको लामो संघर्ष र बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको हो । नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको हो । संविधानले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार प्रत्याभूत गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्नु आवश्यक छ । संविधानवादतर्फको यात्रा यतिवेला हामी सबैका लागि साझा संकल्पको विषय बन्न आवश्यक छ । यस वर्षदेखि संघीय सरकारको आह्वानमा हामीले हाम्रो प्रदेशमा संविधान दिवसलाई उत्सवका रुपमा मनाउन लागि रहेका छौ । यसवाट राजनीतिक स्थायित्व र सुशासनको आधारशीला खडा हुने हाम्रो विश्वास रहेको छ ।

ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि  यतिवेला हामी संघिय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छौ । संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि नागरिकहरु विकास र  समृद्धिको व्यग्र प्रतीक्षामा छन् । तीनै तहमा जननिर्वाचित प्रतिनिधिहरुले तहगत संरकारको नेतृत्व सम्हालेदेखि संघीयताको राजनीतिक आधारशीला आधारभूत रुपमा खडा भएको छ । तर कानुनी, प्रशासनिक र संरचनागत हिसावले संघीयतालाई व्यवहारमा कार्यान्वयन अझै वाँकी छ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन आवश्यक छ । संविधान दिवसले हामी सबैलाई त्यस दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास हामीले लिएका छौ ।
हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य वोकेर अघि बढ्न लागि रहेका छौ । संविधानले दिशानिर्देश गरेको बाटोवाट न्यायपूर्ण, समतामुलक र समृद्ध समाज निर्माण गर्ने कुरा तीनै तहका सरकारहरुको साझा लक्ष्य हो  । संघीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको वाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदान गर्न चाहन्छौ । संविधान दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।
राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा संभव छ । राजनीतिक स्थायित्व र सुशासन विना विकास र समृद्धिको कल्पना गर्न सकिदैन । अधिकारमुखी राजनीतिको दुश्चक्रवाट वाहिर नआई विकास र समृद्धिको जनआकांक्षालाई सम्वोधन गर्न सकिदैन । राज्य वलियो नभई जनअधिकारले सुसज्जित संविधानले प्रत्याभूत गरेका मौलिक हकहरुको संरक्षण हुन सक्दैन । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता  र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।
अन्त्यमा संविधान दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ असोज ३