(Saturday, 15 December, 2018)

प्रहरी दिवस २०७५ को शुभकामना सन्देश

६३ औं प्रहरी दिवसको अवसरमा प्रहरी सेवामा रहेका सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा म राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा   ज्यान गुमाएका अमर प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै जिम्मेवारी पूरा गर्ने क्रममा घाईते योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

नेपाल  प्रहरीले यहाँसम्म आइपुग्दा विभिन्न आरोह—अवरोह पार गर्दै आएको छ । सिमित साधन श्रोतका बाबजुद अपराध नियन्त्रण,अनुसन्धान र ट्राफिक व्यवस्थापनमा राष्ट्रले सुम्पेको जिम्मेवारी पुरा  गर्न प्रहरी संगठन अहोरात्र क्रियाशिल छ । समाजमा शान्ति सुरक्षा बहालीका क्रममा अहिलेसम्म भएका  कामको समिक्षा गर्दै बदलिदो परिवेशमा प्रभावकारी भूमिका स्थापित गर्न प्रहरी संगठनले ध्यान दिनुपर्छ ।
ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि  यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छौ । मुलुकमा राजनैतिक रुपमा संघीयता स्थापित भएपनि प्रशासनिक र  वित्तीय संघीयता स्थापित हुने क्रममा छ । प्रहरी संगठन  पनि संघीय शासन प्रणाली अनुरुप व्यवस्थापन हुन बाँकी छ । प्रहरी संगठनलाई छिटो संघीय शासन प्रणाली अनुरुप व्यवस्थापन गर्दै समाज बढिरहेका सुरक्षा चुनौती सामाना गर्न सक्ने दरिलो संगठनको रुपमा स्थापित गर्न आवश्यक छ ।

केन्द्रीकृत र एकात्मक शासन प्रणालीलाई विस्थापित गरी मुलुक संघीय शासन प्रणालीमा गईसकेपछि नागरिकका अपेक्षा चुलिएका छन् ।  सेवा प्रवाह छिटो, छरितो र चुस्त हुनुपर्ने नागरिकको मागको सम्बोधन चुस्त प्रहरी संगठनले गर्न सक्छ । अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाको बहालीमा चुलिएका नागरिकका अपेक्षा पूरा गर्न प्रहरीले इमान्दारी र निष्ठापूर्वक काम  गर्नुपर्छ । समाजमा बढ्दो अपेक्षालाई पूरा  गर्न सक्दा मात्रै प्रहरी संगठनले विश्वास जित्न सक्छ । नागरिकसंगको सहकार्य र हातेमालोबाट प्रहरी संगठनले समाजमा शान्ति सुरक्षा बहाली गर्न सक्ने भएकाले नागरिकसंगको सुमधुर सम्बन्धलाई  ध्यान दिन म अपील गर्दछु ।
अन्त्यमा, उत्कृष्ट कार्य सम्पादन गरे बापत प्रहरी दिवसका अवसरमा सम्मानित र पुरस्कृत हुने भूतपूर्व एंव  सेवामा रहेका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरुलाई  हार्दिक बधाई ज्ञापन गर्दछु ।

शंकर पोखरेल    
मुख्यमन्त्री
मिति २०७५ असोज २५