(Friday, 23 August, 2019)




तमु समुदायको नयाँ वर्ष ल्होसार पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायका दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल विभिन्न जाति, भाषा र संस्कृतिले रंगिएको मुलुक हो । विभिन्न जाति र समुदायले मान्ने चाडपर्वले मुलुक समुन्नत बनेको छ । विविधतायुक्त समाजमा आज अहिले एउटा समुदायले मान्ने संस्कृति अरु समुदायका लागि पनि साझा बन्दै जानु नेपाली समाजका लागि सुखद विषय हो । संस्कृति  जाति र समुदाय विशेषका नभएर सबैका साझा बन्दै जानुुले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनादै लैजान्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै धर्म, जाति र भाषाको उत्थान गर्ने मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै आयोगहरुको व्यवस्था गरेर जनजाति, अल्पसंख्यक समुदायप्रति सम्मान व्यक्त गरेको छ । यतिखेर  मुलुक तीन तहको चुनाव सम्पन्न भइ संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै मैले विश्वास लिएको छु ।

अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष हो  । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।

अन्त्यमा, तमु समुदायको नयाँ वर्ष ल्होसार पर्वको अवसरमा  सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक  शुभकामना व्यक्त गर्दछु ।


शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ पुष १५