(Tuesday, 10 December, 2019)


 आज मार्च ८ अन्तराष्ट्रिय महिला दिवस । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
विश्वमा  मार्च ८ लाई महिला सशक्तिकरण र आत्मसम्मान उत्सवको रुपमा मनाइन्छ । नेपालमा महिला सशक्तिकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजनैतिक चेतना र जागरण विस्तारको अवसरका रुपमा मनाइदैं आएको छ । जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था  र शाही शासनको कठीन अवस्थामा नेपाली महिलाहरुले  गरेको संघर्ष निकै अविस्मरणीय छ । ती  अध्याँरा दिनहरुमा  मार्च ८ को विशेष महत्व थियो । महिला आन्दोलन केवल महिला अधिकारका लागि मात्रै सिमित नभएर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण पाटो बनेको थियो । लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पु¥याउन महिला दिवसको सन्दर्भमा आयोजना भएका  कार्यक्रम उल्लेख्य भएको र महिलाहरुको सक्रियता, जुझारुपन र अठोटको हार्दिक सम्मान व्यक्त गर्दछु ।
विगतका पटक—पटकका आन्दोलन र संघर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न संभव भएको हो । राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ । समावेशी र समानुपातिक प्रतिनिधित्वको हिसाबले महत्वपूर्ण मानिएको नेपालको संविधान लैंगिक हिसाबले पनि विश्वमै नमूना छ । महिला समानतासंग सम्बन्धित विभिन्न विषयलाई  संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ । विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा हामी जुटिरहेका छौं ।
अझै नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेका छन्, यस्ता कुरीतिलाई हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ । यस वर्षको महिला दिवसको नारा लैंगिक समानताका लागि समान सोंच र व्यवहार, समृद्धिको आधार
 रहेको छ । संविधानको सफल कार्यान्वयन गर्दै समतामुलक नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न म सबै राजनैतिक दल,समुदाय,संघसंस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।
अन्त्यमा,१०९ औं अन्तराष्ट्रिय महिला दिवसमा सबै महिला दिदीबहिनीहरुप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मिति ८ मार्च,२०१९
शंकर पोखरेल
मुख्यमन्त्री