(Monday, 16 September, 2019)

                    

नयाँवर्ष २०७६ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोट समृद्ध नेपाल निर्माणको आधार वन्न सफल हुने विश्वास व्यक्त गर्दछु ।
अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । संविधानसभाबाट संविधान जारी भएपछि सम्पन्न तीनै तहको चुनावपछि संघीयताको व्यवहारिक कार्यान्वयन अघि बढेको छ । गएको वर्ष २०७५संघीयता कार्यान्वयन गर्दै मुलुकलाई दिशानिर्देश गर्ने निकै महत्वपूर्ण काम पूरा भएका छन् । गएको वर्ष संघीयता कार्यान्वयनको आधार वर्षको रुपमा सफल भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारले प्रष्ट मार्गचित्र तयार गर्दै अघि बढ्न सफल भएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलुकमा राजनैतिक अधिकार प्राप्तिको आन्दोलनको चरण आधारभूत रुपमा समाप्त भएको छ । सरकार समृद्ध प्रदेश निर्माणको अभियानमा दृढ संकल्पित छ । अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै विकसित र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा जुट्नु आवश्यक छ । प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुट्न हामी कृत संकल्पित छौ ।
नयाँवर्षको नयाँ उमंग र उत्साहलाई विकसित र समृद्ध प्रदेश बनाउने अठोट र संकल्पमा बदलौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।
नयाँवर्ष २०७६ को अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।
मिति २०७६ बैशाख १

शंकर पोखरेल
मुख्यमन्त्री